काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन हुने-नहुने विषय अझै अनिश्चित रहेको बताएका छन्।
ओखलढुंगामा आयोजित एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भौगोलिक कठिनाइ भएका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मतदाता सहभागिता चुनौतीपूर्ण रहेको उल्लेख गरे। उनका अनुसार त्यस्ता स्थानमा मत हाल्न जाने अवस्था हिमाल चढ्नुपरेजस्तै कठिन रहेको छ।
उनले भदौ २३ र २४ गते मुलुकलाई गम्भीर संकटतर्फ धकेल्ने गतिविधि भएको आरोपसमेत लगाए। असंवैधानिक सरकारले संसद् विघटन गरेको प्रसंग उठाउँदै अध्यक्ष ओलीले सो विषयमा सर्वोच्च अदालतले ढिलाइ गर्न नहुने धारणा राखे।
संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा अदालतले यथाशीघ्र निर्णय दिनुपर्ने माग गर्दै उनले अदालतको फैसलालाई स्वीकार गर्ने स्पष्ट पारे। तर निर्वाचनअघि नै स्पष्ट निर्णय नआए संवैधानिक संकटका बेला न्यायिक निकायको भूमिकामाथि प्रश्न उठ्न सक्ने उनको भनाइ छ।