काठमाडौँ। शहीद दिवसको स्मरणमा आयोजित विभिन्न कार्यक्रममार्फत ३४ जनाले मृत्युपछि आँखादान गर्ने सहमति जनाएका छन्। शहीदप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले विभिन्न संघ-संस्थाको पहलमा आँखादान र रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो।
लायन्स क्लब अफ काठमाडौँ माछापोखरी, लायन्स क्लब अफ काठमाडौँ भिजन सर्कल तथा पर्वत कुश्मा समाजको संयुक्त आयोजनामा तिलगंगा आँखा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ। उक्त अवसरमा १३५ जनाले रक्तदान गरेका छन्।
त्यसै कार्यक्रममा ३४ जनाले निधनपछि आफ्ना आँखा तिलगंगा आँखा प्रतिष्ठानलाई दान गर्ने लिखित सहमति प्रदान गरेका छन्। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहभागीहरूले मुलुकको परिवर्तन र स्वतन्त्रताका लागि शहीदहरूले दिएको बलिदानको सम्मान स्वरूप गरिएको आँखादान र रक्तदानले नागरिक सेवामा समर्पित हुने भावना विकास गर्न सहयोग पुगेको बताएका छन्।