काठमाडौँ। नेपाली काँग्रेसले फागुन २१ गते तोकिएको निर्वाचनलाई केन्द्रमा राख्दै केन्द्रीय तहका पदाधिकारी र सदस्यहरूलाई देशभरका जिल्ला तथा निर्वाचन क्षेत्रमा परिचालन गर्ने नीति तय गरेको छ। निर्वाचन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यका साथ संगठनात्मक सक्रियता बढाउने निर्णय गरिएको हो।
शनिबार काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले केन्द्रीय नेतृत्वका सबै सदस्यलाई जिल्ला-क्षेत्रस्तरमा खटाइने जानकारी दिए। उनका अनुसार यस कदमले संगठनलाई मतदातासँग प्रत्यक्ष रूपमा जोड्दै निर्वाचन परिणाममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रवक्ता चालिसेले जनसमर्थन प्राप्त राजनीतिक संस्था समयसँगै अप्रासंगिक नहुने उल्लेख गर्दै परिवर्तन समयक्रममा व्यक्तिमा हुने बताए। उनले लोकतान्त्रिक प्रक्रियामा नागरिकको मत नै निर्णायक हुने स्पष्ट पार्दै आगामी निर्वाचनले मुलुकको भावी राजनीतिक दिशा निर्धारण गर्ने बताए।