म्याग्दी (बेनी) । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारहरूले निर्वाचन आचार संहिताको पालना गर्ने र जिल्लाको समग्र विकासमा सबै दलहरुबीच एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
म्याग्दी जेसीजद्वारा शुक्रवार बेनीमा आयोजित प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुसंग प्रत्यक्ष संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलबाट उम्मेदवारका प्रत्याशीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले म्याग्दीको विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्यएजेण्डा बनाएर आफू चुनाबमा होमिएको बताए। उनले मुलुकमा बदलिँदो अवस्था अनुरुप काँग्रेस बदलिएको जनाउँदै मुलुकबदल्ने अभियानको नेतृत्व पनि काँग्रेसले गर्ने बताए। उनले भने, ‘‘ हामी विकास, समृद्धि र सुशासनलाई एकैसाथ अघि बढाउन चाहन्छौँ, पार्टीभित्रको समस्या हल गरेर हामी मुलुकको समस्या समाधानमा केन्द्रित भएका छौँ, आगामी संसदमानीतिनिर्माण गर्ने कार्यमा सक्रियतापूर्वक लाग्न र जिल्लाको विकासलाई थप गति दिन हामीलाई जनताले मतदान गर्ने अपेक्षा गरेका छौँ । ’’
कार्यक्रममा नेकपा (एमाले)म्याग्दीबाट उम्मेदवार हरिकृष्ण श्रेष्ठले म्याग्दीको विकासका सवालहरूलाई चुनावी घोषणापत्रमा समेटेर अघि बढ्न विज्ञ सहितको टिमबाट चुनावी घोषणा पत्र तयारी गरेको बताए । उनले कानुन निर्माण, सरकार गठन र बजेट तथा कार्यक्रम निर्माणको क्षेत्रमा आफुले सक्रिय भुमिका खेल्ने प्रतिबद्धता जनाउँदै जिल्लाको कृषि, शिक्षा, सडक, पूर्वाधार लगायतको क्षेत्रमा आबश्यक सुधारको लागिमुख्यएजेण्डा तय गरेको बताए ।
कार्यक्रममा, नेकपा(माओवादी)का क्षेत्रबहादुर घिमिरेले जिल्लामा एकीकृत गुरुयोजना बनाएर विकास निर्माण गर्न, शिक्षा, स्वास्थ्यउपचार लगायतलाई राज्यको मातहत राख्दै भ्रष्ट्राचार निवारण र सुशासनका लागि आफूलाई मतदान गर्न आह्वान गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्माले समेत जिल्लाको पूर्वाधार निर्माण, सुशासन र मुलुकको आवश्यकताअनुसारको काननु निर्माणका लागि संसदमा प्रभाबकारी भूमिका खेल्न आफूहरू उम्मेदवार बनेर आएकोमा जोड दिएका थिए ।
कार्यक्रममा उम्मेदवारहरूले सहभागीहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको उत्तर दिएका थिए। म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेशकुमार विश्वकर्माले उम्मेदवारहरुबिच मैत्रीपूर्ण प्रतिस्पर्धाको वातावरण सिर्जना, निर्वाचन आचार संहिताको पालना, जनताका प्रश्नप्रति उत्तरदायी बनाउँदै जिल्ला र मुलुकको विकास र समृद्धिमा उम्मेदवारहरूका प्रतिबद्धता खोज्न कार्यक्रमले रचनात्मक भूमिका खेल्ने बताए।
म्याग्दीमा एक जना स्वतन्त्र र १२ जना राजनीतिक दलको उम्मेदवारी कायम रहेको छ । निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र छ स्थानीयतह रहेको जिल्लामा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । बयासी मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम छन् ।