काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध अघि बढाइएको अभियान असहज ठान्ने केही समूहको दबाबका कारण आफू नेतृत्वको सरकार निरन्तर रहन नसकेको दाबी गरेका छन्।
रुकुम पूर्व-काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सुशासन, सामाजिक न्याय र आर्थिक उन्नतिलाई केन्द्रमा राखेर सरकारले अघि सारेका पहलहरूले निश्चित स्वार्थ समूहलाई असन्तुष्ट बनाएको उल्लेख गरे।
उनका अनुसार प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेद अन्त्यका लागि कडा कदम चालिएको थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन कायम गर्दै विकास प्रक्रियालाई गति दिन खोज्दा ती प्रयासहरू अवरोधित भए र त्यसकै परिणामस्वरूप सरकार परिवर्तन भएको उनको भनाइ छ। ती अधुरा पहललाई निरन्तरता दिन जनसमर्थन र संगठनात्मक दृढता आवश्यक भएकाले आफू पुनः जनताको बीचमा फर्किन लागेको उनले बताए।
आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने निर्णयबारे प्रष्ट्याउँदै उनले यसलाई सामान्य क्षेत्र परिवर्तनका रूपमा नबुझ्न आग्रह गरे। रुकुम पूर्व जनयुद्धको मुख्य आधार क्षेत्र रहेको, चुनवाङ बैठकमार्फत गणतन्त्रको अवधारणा अघि बढेको तथा समावेशी अधिकारका नीति तय भएको इतिहास स्मरण गर्दै उनले पार्टीको ऐतिहासिक विरासतप्रति सम्मान प्रकट गरे। वर्तमान राजनीतिक अस्थिरता र विभिन्न आन्दोलनपछि उत्पन्न परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्न र राजनीतिक अभियानलाई नयाँ दिशामा लैजान रुकुम पूर्व उपयुक्त ठानेको उनले बताए।
‘प्रचण्ड’ले आफू चुनावी लाभका लागि मात्र त्यहाँ जान नलागेको स्पष्ट गर्दै रुकुम पूर्वमा विकास, उत्पादन र रोजगारीलाई जोड्ने ठोस ‘मोडेल’ स्थापना गर्ने लक्ष्य प्रस्तुत गरे। जडीबुटी, पर्यटन, जैविक कृषि र आधुनिक भेडापालन जस्ता सम्भावनाको उपयोग गरेर हजारौँ युवालाई रोजगारीमा जोड्दै समाजवादी अभ्यासको आधार निर्माण गर्ने योजना रहेको उनले उल्लेख गरे।
तेस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई राष्ट्रिय सहिदका रूपमा राजपत्रमा सूचीकृत गरिएको र पीडित परिवारका लागि रोजगारी तथा आर्थिक परिपूरणसम्बन्धी विधेयक तयार गरिएको जानकारी पनि उनले दिए। ती कार्यक्रमको कार्यान्वयन आधार क्षेत्रबाटै सुरु गरी सहिद, घाइते र प्रभावित परिवारलाई सम्मान दिलाउने उद्देश्यले रुकुम पूर्वलाई प्राथमिकता दिएको उनको भनाइ छ।
अन्त्यमा उनले आफ्नो बाँकी राजनीतिक जीवन राष्ट्रहित, सुशासन र समाजवादी रूपान्तरणका लागि समर्पित रहने संकल्प व्यक्त गर्दै रुकुम पूर्वका जनताको विकास आकांक्षा पूरा गर्न प्रतिबद्धता जनाएका छन्।