काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भारत र चीनविरुद्ध लक्षित भूराजनीतिक गतिविधिको केन्द्र बनाउने प्रयास भइरहेको दाबी गरेका छन्। उनका अनुसार बाह्य शक्तिको स्वार्थअनुसार देशलाई प्रयोग गर्ने उद्देश्यले सरकार गठनसमेत प्रभावित बनाउने प्रयास देखिएको छ।
प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान राजनीतिक प्रक्रियालाई भूराजनीतिक द्वन्द्वसँग जोड्दै टिप्पणी गरे। उनले नेपाललाई रणनीतिक प्रतिस्पर्धाको थलो बनाउने लक्ष्यसहित कठपुतलीसरहको सरकार निर्माण गर्ने प्रयास भएको र त्यसलाई निरन्तरता दिन निर्वाचन अभियानसमेत सोही दिशामा अगाडि बढाइएको आरोप लगाए।
उनले शक्ति राष्ट्रहरूले नेपाललाई दुवै छिमेकी मुलुक भारत र चीनविरुद्ध प्रयोग गर्ने रणनीति अपनाएको आशंका व्यक्त गर्दै त्यसलाई नेकपा एमालेले स्वीकार नगर्ने स्पष्ट पारे। पार्टीले यस्ता गतिविधि सफल हुन नदिने अडान लिएको उनको भनाइ थियो।
महासचिव पोखरेलले आगामी निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रियाभन्दा फरक र संवेदनशील अवस्थाको निर्वाचनका रूपमा व्याख्या गरेका छन्। उनले मुलुक प्रतिगमनतर्फ धकेलिएको, संविधान कमजोर बनाइएको र लोकतान्त्रिक अभ्यासमाथि असर परेको दाबी गर्दै निर्वाचनपछि पनि बाह्य योजनाअनुसार सरकार गठन गराउने प्रयास जारी रहेको आरोप दोहोर्याएका छन्