काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकासका काम हुँदै भएनन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस अवधिमा भएका कामको वस्तुनिष्ठ मूल्यांकन हुनुपर्ने बताएका छन् ।
घोराही उपमहानगरपालिकाको ४८ औँ नगर स्थापना दिवस तथा ‘लैंगीक हिंसा नियन्त्रित नगर’ घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मानवीय, सामाजिक तथा भौतिक विकासका क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको बताएका हुन ।
घोराहीले मानव विकास सूचकका आधारमा बालमैत्री र साक्षर नगरको घोषणा गरिसकेको उल्लेख गर्दै उनले संघीय र प्रदेश सरकारले तोकेका सूचक पूरा गरेर लैंगीक हिंसा नियन्त्रित नगर घोषणा हुनु सिंगो देश र प्रदेशकै लागि नमुनायोग्य काम भएको बताए ।
समारोहमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लैंगीक हिंसा नियन्त्रित नगर घोषणा सम्बन्धी कार्यविधि २०८१ अनुसार ३२ वटा सूचक पूरा गरी घोषणा गरिएको जानकारी दिए । पछिल्लो एक वर्षमा घोराहीमा जम्मा २२ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएको र जनसंख्याको आधारमा यो संख्या ०.०१ प्रतिशत मात्र रहेको हो ।
कार्यक्रम उपप्रमुख हुमा डिसीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । नगर प्रवक्ता राममणि पाण्डेले घोषणासम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरे । घोषणामा योगदान पुर्याउने सुरक्षा निकाय, सामाजिक संघ-संस्था तथा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले संघीय व्यवस्थामा स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित भएको बताए ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले समाजलाई सभ्य र समुन्नत बनाउने दिशामा यो महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
उनले पूर्वाधार, सामाजिक र आर्थिक विकासमार्फत समाज रूपान्तरणको अभियान अगाडि बढिरहेको उल्लेख गर्दै लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि पनि विशेष अभियान आवश्यक रहेको धारणा राखेका छन् ।