काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था हाल स्थिर र सामान्य रहेको अस्पतालले स्पष्ट पारेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जारी गरेको आधिकारिक सूचनाअनुसार उनलाई हिजो साँझ उपचारका लागि भर्ना गरिएको हो। अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईका अनुसार उनको उपचार नशामार्फत एन्टिबायोटिक औषधि दिइने प्रक्रियामार्फत भइरहेको छ।
अस्पतालको विवरणमा जनाइएअनुसार माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो। प्रारम्भिक औषधि सेवनबाट अपेक्षित सुधार नदेखिएपछि संक्रमण (सेलुलाइटिस) देखिएको र त्यसपछि हाडजोर्नी विभागमा भर्ना गरी उपचार अघि बढाइएको हो।
यसैबीच सामाजिक सञ्जालमा फैलिएका केही तस्बिरहरू अस्पतालभित्र खिचिएका नभएको पनि अस्पतालले स्पष्ट गरेको छ। अस्पताल प्रशासनले उपचार प्रक्रिया चिकित्सकहरूको निगरानीमा नियमित रूपमा जारी रहेको जनाएको छ।
