काठमाडौँ । नेपाल प्रहरीले अवैध लागू औषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग तथा लागू औषध नियन्त्रण ब्युरो नागढुंगाको टोलीले चन्द्रागिरि नगरपालिका-२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बाप्र ००१-००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा सात ग्राम लागू औषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका-३ का ३६ वर्षीय निरोज न्यौपाने रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।