काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटघाट भएको छ ।
गृह मन्त्रालयमा सोमबार सम्पन्न उक्त भेटमा हालको राजनीतिक अवस्था, निर्वाचन प्रक्रिया तथा नेपालमा अमेरिकी पक्षबाट हुँदै आएको सहयोग र सहायताका विषयमा विचार आदान-प्रदान गरिएको जनाइएको छ ।
भेटका क्रममा गृहमन्त्री अर्यालले फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार सक्रिय रूपमा लागिरहेको जानकारी गराएका थिए । निर्वाचनको विश्वसनीयता र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्थापन अघि बढाइएको उनको भनाइ थियो ।
कार्यवाहक राजदूत अर्बमले नेपाल र अमेरिकाबीच कायम रहेको मित्रवत् सम्बन्ध निरन्तर रहने विश्वास व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्य थप सुदृढ हुँदै जाने धारणा राखेका छन् ।