रियाद, साउदी अरब । नेपाल सरकार र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ।
आइतबार साउदी अरबको रियादमा सम्पन्न सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा हस्ताक्षर हुनुअघि दुवै देशका श्रम मन्त्रीबीच द्विपक्षीय बैठकसमेत सम्पन्न भएको थियो। सो अवसरमा मन्त्री भण्डारीले उक्त सम्झौताले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत र सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले सम्झौतामार्फत नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बन्ने उल्लेख गरे। यसले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहितको संरक्षण तथा रोजगारी सुरक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको उनको भनाइ थियो।
द्विपक्षीय श्रम सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयलाई प्राथमिकताका साथ समेटिएको छ। सम्झौताले दुवै देशका प्रचलित कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
यस सम्झौताबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधामा सुरक्षा र स्थायित्व आउने विश्वास लिइएको छ।