काठमाडौँ । राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्य पदका लागि आज सातै प्रदेशमा भइरहेको निर्वाचनमा मध्याह्न १२ बजेर ४५ मिनेटसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने १७ सदस्य पद पूर्तिका लागि आज बिहान ९ बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजेसम्म सञ्चालन हुने कार्यक्रम छ। आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार तोकिएको समय अवधिसम्म कुल मतको आधाभन्दा बढी प्रयोग भइसकेको हो।
प्रदेशगत रूपमा खसेको मतसंख्या अनुसार कोसी प्रदेशमा ३१३, मधेस प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेको आयोगको भनाई छ।
यस निर्वाचनमा कुल १८ पद रिक्त हुँदैछन्। तीमध्ये कोसी प्रदेशतर्फ खस–आर्य समूहको एक पदमा उम्मेदवार निर्विरोध चयन भइसकेको छ। नेपाली काँग्रेसका सुनीलबहादुर थापा उक्त पदमा निर्विरोध निर्वाचित भएका हुन्। बाँकी १७ पदका लागि मतदान जारी रहेको आयोगले स्पष्ट पारेको छ।
मतदान प्रदेश निर्वाचन कार्यालय तथा तोकिएका केन्द्रहरूमा भइरहेको छ। कोसी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशमा हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्र तोकिएको छ।
यस्तै गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशमा दाङको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान सञ्चालन भइरहेको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष निर्वाचक मण्डलमा समावेश छन्। आयोगका अनुसार प्रारम्भिक रूपमा दुई हजार ५६ मतदाता रहेकामा विभिन्न कारणले हाल कायम मतदाता संख्या दुई हजार ११ रहेको छ।