काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अनुभवी खेलाडी सिता राना मगरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रनको कोशेढुंगा पार गरेकी छन्।
उक्त उपलब्धि उनले खेलको १६औँ ओभरको दोस्रो बलमा हासिल गरेकी हुन्। सिता राना मगरले कुल ६६ वटा टी-२० आई खेल खेल्दै ६२ इनिङ्समा एक हजार रन पूरा गरेको तथ्य सार्वजनिक गरिएको छ।
यससँगै उनी टी-२० आई क्रिकेटमा एक हजार रन बनाउने तेस्रो नेपाली महिला खेलाडी बनेकी छन्। यसअघि कप्तान इन्दु बर्मा र पूर्व कप्तान रूविना क्षेत्रीले यो उपलब्धि हासिल गरिसकेका छन्।
हालै सम्पन्न खेलमा नेदरल्यान्ड्सविरुद्ध रूविना क्षेत्रीले पनि एक हजार रनको आँकडा पूरा गरेकी थिइन्। नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा भने टी-२० आईमा एक हजार रन बनाउने पहिलो नेपाली महिला ब्याटर हुन्।