काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार पर्सि बिहान ९ बजेदेखि मतदान सुरु हुनेछ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपपतिबाट मनोनित हुन् । बाँकी १८ सदस्यका लागि पर्सि निर्वाचन हुँदैछ ।
सात वटै प्रदेशमा मतदान केन्द्र छ । यसका लागि आवश्यक साम्रमी निर्वाचन कार्यलयमा पुगिसकेको छ । ‘आवश्यक सम्पुर्ण तयारी पुरा भएको हुनाले माघ ११ गते तोकिएकै समयमा मतदान सुरु हुनेछ,’ उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने ।
मतदानको समय माघ ११ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ ।
ष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम कायम भएका मतदाताहरूले मतदान गर्न पाउनेछन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् । मतदान गर्न जाँदा उनीहरूले पाँच किसिमका कागजातमध्ये एउटा लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, निर्वाचन अधिकृतवाट प्रदेश सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र, निर्वाचन अधिकृतबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र भए पनि मतदान गर्न पाइनेछ ।