काठमाडौँ । बारामा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी प्रारम्भमा ११२ जनाले चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका थिए।
उम्मेदवारी फिर्ता लिनेमा संघीय समाजवादी पार्टीका कलामुद्दिन हवारी तथा युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका नरबहादुर श्रेष्ठ रहेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले जनाएको अनुसार बारा निर्वाचन क्षेत्र नं १, २ र ३ मा कुनै पनि उम्मेदवारले मनोनयन फिर्ता लिएका छैनन्। क्षेत्र नं ४ मा भने दुई जनाले उम्मेदवारी फिर्ता गरेका हुन्।
उम्मेदवारी फिर्ताको प्रक्रिया सम्पन्न भएसँगै बाराका चारवटै निर्वाचन क्षेत्रमा हाल ११० जना उम्मेदवार कायम भएका छन्। जसअनुसार क्षेत्र नं ४ मा ३७ जना, क्षेत्र नं ३ मा ३९ जना, क्षेत्र नं २ मा २९ जना र क्षेत्र नं १ मा २० जना उम्मेदवार प्रतिस्पर्धामा रहने भएका छन्।