काठमाडौँ । विशेष महाधिवेशनमार्फत नेतृत्व चयन भइसकेपछि नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापा पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। सभापतिको जिम्मेवारी सम्हालेपछि सानेपामा उनको यो पहिलो उपस्थिति हो।
सभापति थापासहित पार्टीका सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि केन्द्रीय कार्यालयमा उपस्थित भएका छन्। आजै सभापतिले औपचारिक रूपमा कार्यभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
कार्यभार सम्हालिसकेपछि केन्द्रीय कार्यालयमै केन्द्रीय कार्यसमिति बैठक बस्नेछ। बैठकमा आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण राजनीतिक निर्णयहरू लिइने तयारी छ। पार्टी स्रोतका अनुसार उक्त बैठकले सभापति थापालाई प्रधानमन्त्री पदका लागि उम्मेदवार बनाउने प्रस्ताव अनुमोदन गर्नेछ।
सभापति थापा सानेपा पुग्दा पार्टी समर्थक तथा कार्यकर्ताले नाराबाजी गर्दै स्वागत गरेका थिए।