काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, सुरक्षित र शान्त वातावरणमा सम्पन्न गर्ने तयारी स्वरूप सिराहामा बहुपक्षीय सुरक्षा अभ्यास गरिएको छ। मिर्चैया नगरपालिकास्थित जीवा खोलाको बगर क्षेत्रमा उक्त अभ्यास सञ्चालन गरिएको हो।
जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाली सेनाको चोहर्वा अवस्थित नन्दाबक्स गणको अगुवाइमा बुधबार संयुक्त निर्वाचन सुरक्षा अभ्यास आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी गरी करिब चार सय जनाको सहभागिता रहेको थियो।
निर्वाचन अवधिमा मतदान केन्द्र तथा मतदान स्थलको सुरक्षा व्यवस्थापन, मतदान प्रक्रिया सञ्चालन र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि सुरक्षाकर्मीलाई तयार पार्ने उद्देश्यले अभ्यास गरिएको जनाइएको छ। साथै, विभिन्न आकस्मिक तथा जोखिमपूर्ण अवस्थाहरूमा अपनाउनुपर्ने सुरक्षा कार्यविधिबारे समेत प्रदर्शन गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार चारवटै निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिसकिएको छ। आवश्यकताअनुसार आगामी १५ फागुनसम्म नमुना मतदान अभ्याससमेत सञ्चालन गरिने तयारी छ।
संयुक्त अभ्यासबाट निर्वाचन सुरक्षामा संलग्न सबै निकायबीच आपसी समन्वय, सहकार्य र कार्यगत तयारी अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा जिल्ला सुरक्षा समितिका सदस्यहरूसँगै जिल्ला मुख्य निर्वाचन अधिकृत डा। श्रीप्रकाश उप्रेती, नेपाली सेनाका नं. २७ बाहिनी पति सहायक रथी नारायणबहादुर थापा, निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शिव वाग्ले तथा जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवको उपस्थिति रहेको थियो।
जिल्ला निर्वाचन कार्यालय सिराहाका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रमा कुल ४ लाख ५३ हजार ६४५ मतदाता रहेका छन्। तीमध्ये पुरुष २ लाख ४१ हजार ६१५, महिला २ लाख १२ हजार २८ र अन्य दुई मतदाता रहेका छन्। कार्यालयले उपलब्ध गराएको विवरणअनुसार क्षेत्रगत रूपमा १ देखि ४ सम्म क्रमशः ५६, ५४, ५३ र ६० मतदान स्थल रहेका छन् भने कुल मतदान केन्द्रको संख्या ५३१ रहेको छ।