काठमाडौँ । काठमाडौँको गोकर्णदेखि बल्खुसम्म फैलिएको बागमती नदी कोरिडोर क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्ने व्यवस्था अघि बढाइएको छ।
सार्वजनिक सुरक्षा सुदृढीकरण र निगरानी प्रणाली प्रभावकारी बनाउने उद्देश्यसहित यससम्बन्धी औपचारिक समझदारी सम्पन्न भएको हो।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबीच बागमती करिडोरमा सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौतामा प्रहरी कार्यालयका तर्फबाट प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र समितिका तर्फबाट आयोजना निर्देशक मचाकाजी महर्जनले हस्ताक्षर गरेका हुन्।
समझदारी कार्यक्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक महर्जनले नागरिक सुरक्षालाई प्राथमिकतामा राखी नेपाल प्रहरीसँग सहकार्य गर्न पाएकोमा सन्तोष व्यक्त गरे। उनले कोरिडोर क्षेत्रमा निगरानी प्रविधि विस्तारले सार्वजनिक सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।
त्यसैगरी काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले नागरिकको शान्ति सुरक्षा अभिवृद्धिका लागि गरिएको लगानीप्रति आभार प्रकट गर्दै यसले अपराध नियन्त्रण र व्यवस्थापनमा सहयोग पुग्ने बताएका छन्।