काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखाका दुवै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ। पार्टी केन्द्रले आइतबार अबेर गोरखाका दुवै क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको जिल्ला सचिव मिलन रानाले जानकारी दिए।
उनका अनुसार गोरखा १ बाट सुदन गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ। त्यस्तै गोरखा २ बाट कवीन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाइएको सचिव रानाले जानकारी दिए। सुदन गुरुङ जेन जेड आन्दोलनपछि एकाएक देखा परेका व्यक्तित्व हुन्। उनी गोरखा क्षेत्र नं. १ अन्तर्गत चुमनुब्री गाउँपालिका-३ नाग्चेतका हुन्।
त्यस्तै बुर्लाकोटी रास्वपाका महामन्त्री हुन्। पालुङ्टार नगरपालिका-९ का स्थायी बासिन्दा उनी स्थापना कालदेखि नै पार्टीमा सक्रिय भएर लागेका व्यक्तित्व हुन्। यसअघि २०७९ सालको निर्वाचनमा पनि उनी गोरखा २ बाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनले १२ हजार ६३९ मत प्राप्त गरेका थिए।