काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू आधिकारिक उम्मेदवार छनोटको प्रक्रियामा सक्रिय बनेका छन्। यसैक्रममा अधिकांश जिल्लाका आकांक्षी नेताहरू यतिबेला काठमाडौं केन्द्रित भई आ–आफ्नो दाबेदारी मजबुत बनाउन दौडधुपमा जुटेका छन्।
विशेषगरी दोलखा कांग्रेसको टिकट प्राप्त गर्न तीव्र शक्ति प्रदर्शन र लबिइङ देखिएको छ। दोलखाबाट कांग्रेसको प्रतिनिधि सभा उम्मेदवार बन्न अजयबाबु शिवाकोटी, ताराबहादुर कोइराला र प्रभुराम श्रेष्ठ बीच कडा प्रतिस्पर्धा चलिरहेको छ।
तीनै आकांक्षी नेताहरू राजधानीका विभिन्न शक्तिकेन्द्र धाउँदै आफ्नो दाबेदारी सुरक्षित गर्न रणनीतिक भेटघाट र समन्वयमा व्यस्त छन्। यसले दोलखा कांग्रेसभित्रको चुनावी सरगर्मीलाई थप चर्काएको छ।
यसपटकको टिकट वितरणमा पार्टीभित्रका प्रमुख गुटहरूको सीधा प्रभाव देखिएको छ। अजयबाबु शिवाकोटी सभापति गगन थापा निकट मानिन्छन् भने ताराबहादुर कोइराला डा. शेखर कोइराला समूहको समर्थनमा अघि बढिरहेका छन्। अर्कोतर्फ, प्रभुराम श्रेष्ठलाई निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको बलियो साथ रहेको बुझिन्छ।
तीनै आकांक्षीको व्यक्तिगत सक्रियता र उनीहरू आबद्ध गुटको शक्ति सन्तुलनले टिकटको अन्तिम निर्णय गर्ने विश्लेषण गरिएको छ। यसैबीच, दोलखा कांग्रेसका लागि प्रदेश मन्त्री भइसकेका कुन्दन काफ्ले पनि निर्णायक पात्र बन्न सक्ने देखिन्छ।
त्रिपक्षीय प्रतिस्पर्धाकै बीचमा काफ्लेलाई प्रदेश सांसद पदबाट राजीनामा गराएर केन्द्रमा उम्मेदवार बनाउने रणनीति अघि बढेमा उनको सम्भावना पनि बलियो हुने आँकलन गरिएको छ। काफ्लेको सम्भावित प्रवेशले हालको समीकरणलाई चुनौती दिँदै दोलखाको चुनावी राजनीतिमा नयाँ मोड ल्याउन सक्ने देखिएको छ।