काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ खुलाइएको निर्वाचन प्रहरीका लागि करिब २ लाखको आवेदन परेको छ ।
नेपाल प्रहरीअन्तर्गत खटाउन १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन गर्न १५ हजार १ सय १० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आवेदन खुलाइएको थियो । जसका लागि कुल १ लाख ९६ हजार ४ सय ७० जनाको आवेदन परेको हो ।
निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेमा विगतका निर्वाचनमा म्यादी प्रहरी भई काम गरेका २६ हजार ६ सय ३१, पूर्वप्रहरीबाट ६ सय ७४, पूर्वसेनाबाट १ हजार ६ सय ७३, पूर्वसशस्त्र प्रहरीका २ सय २८ र पूर्ववन रक्षक १ सय ५३ जनाको पनि आवेदन परेको छ । आवेदन दिने बाँकी १ लाख ६७ हजार ५७ जना सर्वसाधारण छन् ।
अब आवेदकमध्येबाट छनोट प्रक्रिया अघि बढाइनेछ । यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित कार्यालयबाट छनोट प्रक्रिया अघि बढाउन लागिएको हो ।
सोमबार (माघ ५) बाटै छनोट प्रक्रिया अघि बढाउन लागिएको हो । २५ पुसदेखि १ माघसम्मको अवधि तोकेर निर्वाचन प्रहरी भर्नाको दरखास्त खुलाइएकामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ३६ जिल्लामा कम आवेदन परेपछि समय थप गरिएको थियो । जसअनुसार कम आवेदन परेका जिल्लामा ३ माघसम्म दरखास्त अवधि बढाइएको थियो । थप भएकोसहित गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत १ लाख ९६ हजार ४ सय ७० जनाको आवेदन परेको हो ।
गृह मन्त्रालयले ४० दिनको कार्यविधि तोकेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मातहत खटाउने गरी निर्वाचन प्रहरी भर्ना, परिचालन तथा खटनपटनसम्वन्धि कार्यविधि जारी गरेको थियो ।
मंसिर २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाइएकामा दोब्बर अर्थात् २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको थियो । वैशाख २०७९ को स्थानीय तह निर्वाचनमा करिब १ लाख म्यादी प्रहरीको आवेदन खुलाइएकामा तेब्बर अर्थात् करिब ३ लाखले दरखास्त दिएका थिए । यो पटकको चुनावमा भने आवेदन दिने तुलनात्मक कम देखिएका हुन् ।