चन्द्रपुर (रौतहट) । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखेको छ ।
सुरक्षाका दृष्टिकोणले विभिन्न स्थानीय तहमा रहेका ती मतदानस्थल अतिसंवेदनशील सूचीमा राखेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए। एक सय मतदानस्थल संवेदनशीलको सूचीमा रहेका र बाँकी २५ मतदानस्थल सामान्य सूचीमा रहेको प्रजिअ भुसालले जानकारी दिए। रौतहट क्षेत्र नं १ मा ६७, क्षेत्र नं २ मा ७२, क्षेत्र नं ३ मा ७७ र क्षेत्र नं ४ मा ६१ मतदानस्थल रहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रौतहटमा पाँच सय ४१ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिए । विसं २०७९ को प्रतिनिधि सभा निर्वाचनमा दुई सय ७६ मतदानस्थल कायम रहेकामा यस वर्ष एउटा स्थल थप गरिएको हो । गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको कार्यालय प्रमुख दासले जानकारी दिए।
यस वर्षको निर्वाचनमा रौतहटमा २१ हजार एक सय ५६ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख दासका अनुसार रौतहटमा अहिले चार लाख ३६ हजार ६११ मतदाता रहेका छन् । विसं २०७९ को प्रतिनिधि सभा निर्वाचनमा चार लाख १५ हजार ४५५ मतदाता थिए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा चार प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् ।