पर्वत । यहाँको कुश्मामा सञ्चालित नि:शुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको परीक्षण गर्दा ७३ जनामा मोतिबिन्दुको समस्या देखिएको छ ।
नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पतालद्वारा लायन्स क्लब अफ हिमालय, कुश्मा र लायन्स क्लब अफ पर्वत अल्पेश्वरसँगका सहकार्यमा गत हप्ता यहाँ दुई दिने नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।
नेपाल नेत्रज्योति संघ, मिहालय आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा नेत्र अधिकृत सुवास नेपालका अनुसार मोतिबिन्दु देखिएका सबै बिरामीको नि:शुल्क शल्यक्रिया गरिएको छ । शिविरमा चस्मा आवश्यक देखिएका बिरामीहरूलाई नि:शुल्क चस्मा समेत वितरण गरिएका थियो ।
हिमालय आँखा अस्पतालकी नेत्र रोग विशेषज्ञ डा. हरिविक्रम अधिकारीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरूको टोली आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो । अस्पतालले विभिन्न विकास साझेदारहरुसंगको सहकार्यमा गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा नि:शुल्क शिविर सञ्चालन गर्दै आइरहेको छ ।
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी-आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ संघले विभिन्न निकायहरूसँगको सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।
उनले ग्रामीण क्षेत्रका न्यून आयस्तरका, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै संघले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गरे ।
यसैगरी, नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रका अनुसार संघले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छ भने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ ।
संघले स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको संघले जनाएको छ ।