काठमाडौं । नेपालका ६० प्रतिशतभन्दा बढी मतदाताहरू आगामी निर्वाचनमा आफ्नो राजनीतिक आबद्धता वा दल परिवर्तन गर्ने सोचमा रहेको एक नयाँ सर्वेक्षणले देखाएको छ।
सेन्टर फर पोलिसी रिसर्चले गरेको ‘नेपाल मतदाता सर्वेक्षण’ को प्रारम्भिक प्रतिवेदनअनुसार वर्तमान राजनीतिक दलहरूको कार्यशैलीप्रति बढ्दो असन्तुष्टिका कारण मतदाताहरू विकल्पको खोजीमा देखिएका हुन्।
सेन्टर फर पोलिसी रिसर्चले नेपालमा नीति, राजनीति र समाज सम्बद्ध विभिन्न अध्ययन र अनुसन्धान गर्दै आएको छ । सर्वेक्षण १९ पुसदेखि २५ पुससम्मको अवधिको हो । जनसंख्याका आधारमा प्रत्येक प्रदेशमा सहरी क्षेत्रको उच्च जनसंख्या भएका एक-एक जिल्ला गरी कुला ३४ जिल्लाका ११ सय मतदातासँग सर्वेक्षण गरिएको हो । यसमा ६६ प्रतिशत पुरुष र ३४ प्रतिशत महिला थिए । यो सर्वेक्षण १८ देखि ६५ वर्ष उमेरसम्मका व्यक्तिमाझ गरिएको थियो ।
संस्थाले २१ फागुनका लागि घोषित निर्वाचनको पूर्वसन्ध्यामा आम मतदाताले राजनीति, निर्वाचन प्रक्रिया, राजनीतिक दल तथा तिनका गतिविधिलाई कसरी हेरिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर सर्वेक्षण गरेको बताएको छ ।
सर्वेक्षणमा सहभागी ६१.४ प्रतिशत मतदाताले आफूले विगतमा समर्थन गर्दै आएको दल परिवर्तन गर्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।
यसको मुख्य कारणका रूपमा उनीहरूले दलहरूमा देखिएको वैचारिक स्पष्टताको अभाव र नेतृत्वको असफलतालाई औँल्याएका छन्।
त्यस्तै, नयाँ राजनीतिक दलहरूप्रति अपेक्षा केही सकारात्मक भए पनि ५० प्रतिशतभन्दा कम मात्र विश्वास देखिनु नागरिकहरू अझै पनि वैकल्पिक राजनीतिक शक्तिप्रति पूर्ण आश्वस्त नभएको प्रमाण हो।
करिब ४५ प्रतिशत मतदाताले नयाँ वा वैकल्पिक राजनीतिक शक्तिहरूलाई परीक्षण गर्न चाहेको बताएका छन्।
सर्वेक्षणमा सहभागी ७२ प्रतिशत उत्तरदाताले भ्रष्टाचार र सुशासनको अभावलाई आफ्नो असन्तुष्टिको मुख्य कारण मानेका छन्।
सर्वेक्षणमा सहभागी १८ देखि ३५ वर्ष उमेर समूहका ७५ प्रतिशत युवा मतदाताहरू पुरानो दलीय संयन्त्रभन्दा बाहिरको नेतृत्वको पक्षमा देखिएका छन्।