काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुस्ताङमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ ।
न्यायाधीश विद्याराज पौडेलले सो कार्यालयको उद्घाटन गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, सुरक्षा निकायका जिल्ला प्रमुख तथा अन्य सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
कार्यालयको उद्घाटनको अवसरमा मुख्य निर्वाचन अधिकृत पौडेलले मुस्ताङमा निर्वाचन आयोगको कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया अघि बढाइने बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार तथा नागरिक सबैको सहयोग आवश्यक रहेकाले निर्वाचनसँग सम्बन्धित विभिन्न गतिविधिलाई अगाडि बढाउने मुख्य निर्वाचन अधिकृत पौडेलको भनाइ छ ।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारी शर्माले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास दिलाउँदै शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन् । जिल्ला निर्वाचन अधिकृत लोकेन्द्र ज्ञवालीले जिल्लाभित्रका मतदान स्थलसहित हालसम्म गरिएको कार्यका बारेमा जानकारी गराएका थिए।
अत्यधिक चिसोका कारण उपल्लो मुस्ताङका अधिकांश बस्ती खाली भएको र तल्लो क्षेत्रका बासिन्दा समेत जाडो छल्न बेसी झरेको अवस्थामा फागुन महिनामा मतदाता फर्किएपछि गाउँमा चहलपहल हुन्छ भने उम्मेदवारले मनोनयन पत्र दर्ता गरेपछि मतदाता भेटघाटका लागि समेत जिल्ला बाहिर जान्छन् ।
मुस्ताङ जिल्लाको थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ रहेको छ ।