काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको बलेवा पैयुँपाटामा रहेको त्रिभुवन माविको हीरक जयन्ती तथा विद्यार्थी पूर्न मिलन कार्यक्रमको मुख्य समारोहमा प्रमुख अतिथिको रूपमा पुगेका थिए । दिउँसो १२.१५ मा कार्यक्रम स्थलमा पुगेका पौडेल झण्डै २ घण्टा कार्यक्रम स्थलमा बसे कार्यक्रममा आयोजकले केही पूर्व विद्यार्थीहरूलाई सम्मानको कार्यक्रम राखेको थियो सम्मान सकिएसँगै राष्ट्रपति पौडेलले सम्बोधन गरे उनको सम्बोधन पश्चात् आयोजकले पौडेललाई बिदाइ गर्ने तयारी गर्यो ।
बिदाइ गर्नुपुर्व आयोजक र बागलुङ नगरपालिकाको तर्फबाट नगरप्रमुख वसन्त कुमार श्रेष्ठले मायाको चिनो प्रदान गर्ने उद्घोष गरियो । मायाको चिनोको रूपमा बागलुङमा उत्पादन हुने बुट्टेनली थियो । जब कार्यक्रमका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीले मायाको चिनोको रूपमा बुट्टेनली प्रदान गर्न खोजे पछाडि र दायाँबायाँ रहेका सुरक्षाकर्मीहरू आश्चर्य भएर हेर राष्ट्रपति पौडेल पनि छक्क मुद्रामा देखिन्थे ।
बागलुङको मौलिक पहिचान र सांस्कृतिक धरोहरका रूपमा परिचित बुट्टेनली यहाँ आउने पाहुना तथा विशिष्ट व्यक्तिलाई मायाको चिनोको रूपमा प्रदान गर्ने गरिन्छ। बागलुङको कला, संस्कृति र परम्परालाई झल्काउने बुट्टेनली हातमा लिँदै गर्दा राष्ट्रपति पौडेलले यसको बारेमा सोधिरहेका थिए । दुई सय वर्ष पुरानो बुट्टेनली बागलुङको पहिचाहनको रूपमा लिने गरिन्छ ।
बाँस तथा निगालोको नलीमा विभिन्न खाले ऐतिहासिक तथा राजनीतिक व्यक्तिका चित्र, जंगली जनावर, मयुर, फूल, दृश्य, पौराणिक कालदेखि आधुनिककाल सम्मका सांस्कृतिक दृश्य र प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुँदेर तयार पारिएको निगालो तथा बाँसलाई बुट्टेनलीको रूपमा लिइँदै आइएको छ । यही बुट्टेनली बागलुङको मायाको चिनोको रूपमा प्रदान गर्ने गरिन्छ ।
स्थानीय स्तरमा उत्पादन हुने बुट्टेनली बागलुङको ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको पहिरनका रूपमा चिनिने हुँदा यहाँ आउने पाहुनालाई यहीको उत्पादन प्रदान गर्ने गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्त कुमार श्रेष्ठ बताउँछन् । राष्ट्रपतिलाई बुट्टेनली प्रदान गर्नुले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै बागलुङको संस्कृति राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास लिइएको श्रेष्ठको भनाई छ । उनले बुट्टेनली केवल एउटा लौरोको रूपमा मात्र नभई बागलुङको पहिचान, मेहनत र परम्पराको प्रतीक भएको बताए । यस्ता सांस्कृतिक चिनोहरू राष्ट्रिय व्यक्तित्वलाई प्रदान गर्दा स्थानीय उत्पादनको सम्मान र संरक्षणमा थप टेवा पुग्ने श्रेष्ठ बताउँछन् । पछिल्लो समयमा यसको सिप पुस्तान्तरण नहुँदा बुट्टेनली निर्माण गर्ने कलाकार भने केहीमा सीमित रहेका छन ।
बुट्टेनलीसँग बागलुङ नगरपालिकाको तर्फबाट नगरप्रमुख श्रेष्ठले कालिगण्डकीमा पाइने शालिग्राम शिला मायाको रूपमा राष्ट्रपति पौडेललाई प्रदान गरेका छन । भगवान् विष्णुको प्रतीकको रूपमा चिनिने शिला बागलुङ आउने अतिथिका लागि दिने गरिएको छ ।