काठमाडौँ । माघे सङ्क्रान्ति पर्वका अवसरमा काठमाडौँमा बसोबास गर्दै आएका मगर समुदायले सांस्कृतिक र्याली निकालेका छन् ।
नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र विभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समुदायले काठमाडौँको भृकुटीमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना गरेका हुन् ।
माघे सङ्क्रान्ति विशेषतः मगर जातिमा चेलीबेटीको चाड हो । सकरातीमा मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ । चेलीलाई पुज्न माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल-कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दानदक्षिणा गरी उपहार दिने चलन छ ।
तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनिन्छ ।
मगर समुदायका मौलिक संस्कृतिहरू नेपाल सरकारको राष्ट्रिय सूचीमा सूचीकृत गराउँदै विश्वव्यापी बनाउने उद्देश्यका साथ मगर संघले टुँडिखेलमा मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव समेत आयोजना गरेको छ ।