काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले काँग्रेसका १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार सदस्य आफूहरूले जहाँ पनि उभ्याउन सक्ने दाबी गरेका छन् ।
सभापति निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले जसरी महाधिवेशन प्रतिनिधिले शेरबहादुर देउवालाई सभापति निर्वाचित गरेका थिए तीनै प्रतिनिधिले आफूलाई सभापति चुनेको बताए ।
थापाले काँग्रेस विभाजित नभएको दाबी गर्दै निर्वाचन आयोगमा यसअघि नै विशेष महाधिवेशन भइरहेको र केही दिनमै नयाँ कार्य समिति आउनेछ भनेर लिखित जानकारी गराइसकिएको समेत जानकारी दिए ।
थापाले आयोग कुनै शक्तिको प्रभावमा नपरी विधि विधानअनुसार निर्णय गर्ने भन्दै काँग्रेसको आधिकारिकताको कुनै विवाद नहुने बताए ।