काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमित महाधिवेशनका लागि नेतृत्वले ध्यान दिन नसक्दा विशेष महाधिवेशन गर्नुपरेको बताएका छन् ।
आइतबार काठमाडौँमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘आज नेपाली काँग्रेसले दोस्रो विशेष महाधिवेशन गरिरहेको छ । हामीले समयमा नियमित महाधिवेशन गर्न सकेनौँ । विशेष महाधिवेशन दर्ता भएको तीन महिनाभित्र नियमित गर्न सकेको भए विशेष रद्द हुनसक्छ । नियमित गराउन नेतृत्वले ध्यान दिएन । विशेष महाधिवेशन आफैँ निष्क्रिय हुन्छ भन्ने दम्भ पालेर बसेको हुनाले आज हामीले विशेष गरिरहेका छौँ,’ पौडेलले भने ।
साथै, उनले पार्टी फुटाउन लागेको भनेर आरोप लगाउन नमिल्ने पनि बताए ।
‘महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा उहाँहरूलाई अपमान गरेर काँग्रेस फुटाउन लाग्यो भन्न पाइँदैन । गणितका आधारमा विश्वास प्राप्त भएन भने नैतिकताको ख्याल गर्नुपर्छ,’ उनले भने ।
उनले थप भने, ‘यो विधानले व्यवस्था गरेको अवस्था हो । विधानलाई केन्द्रीय समिति, कार्यसम्पादन समितिले निर्देशित गर्न सक्दैन । विधानले निर्देशित गरे बमोजिम विशेष महाधिवेशन भइरहेको छ । नेपाली काँग्रेस एउटा राजनीतिक पार्टी मात्रै होइन, यो देशका सबै बेथितिविरुद्धको अभियान हो ।’
नेपाली काँग्रेस दलित, मधेशी, जनजाति, सीमान्तकृत विभेद विरुद्धको अभियान रहेको उनको भनाइ छ ।