काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्दै, सामाजिक, आर्थिक रूपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरूलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले नेपाल एकीकरणका योद्धा, वीर पुर्खा, महान् सहिद र आम नेपाली जनताको ‘समृद्ध नेपाल तथा सुखी नेपाली’को सपना साकार पार्न समाजवाद कार्यान्वयन गर्नुपर्ने बताए ।
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, शान्ति, अग्र गति र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दै तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको राज्य विस्तार अभियानको सुरुआतसँगै नेपालको पूर्वपश्चिम, हिमाल, पहाड र तराईमा रहेका स–साना राज्यहरूलाई एकीकरण गर्ने सिलसिला पनि सुरु भएको पूर्व प्रधानमन्त्री खनालले उल्लेख गरे ।
तात्कालिक समयका वीर पुर्खाको साहस, पराक्रम र दूरदर्शिताको परिणामस्वरूप हाम्रो मातृभूमि नेपाल आज एक स्वाधीन, अखण्ड र सार्वभौम मुलुकका रूपमा तथा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रूपमा विश्वमा परिचित रहेको उनले विचार व्यक्त गरे । बदलिँदो अन्तर्राष्ट्रिय स्थिति, नेपाल र नेपाली जनताको आमूल परिवर्तनको आकांक्षालाई पूरा गर्न आगामी निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरूलाई विजय गराउनुपर्नेमा पूर्व प्रधानमन्त्री खनालले जोड दिए ।