कञ्चनपुर । कञ्चनपुरमा तोरी खेती विस्तार हुँदै गएको छ । कम लागतमा राम्रो उत्पादन हुने र बजारमा सहज बिक्री हुने भएकाले यहाँका किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन् । जिल्लामा करिब ३०० हेक्टरमा तोरी खेती विस्तार भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।
ज्ञान केन्द्रका सूचना अधिकारी धर्म साउदले तोरी पकेट क्षेत्र निर्धारण गरेर किसानलाई ५० प्रतिशत अनुदान र प्राविधिक सहयोग गरिरहेकाले पनि खेती विस्तारमा टेवा पुगेको बताए । उनले भने, “यस वर्ष मात्रै १९३ हेक्टरमा तोरी खेती विस्तार भएको छ । ज्ञान केन्द्रबाट यो खेती गर्ने किसानलाई बीउ, सिँचाइ सुविधा र प्राविधिक सहयोग भइरहेको छ ।”
ज्ञान केन्द्रले बेलौरी नगरपालिकामा तोरी पकेट क्षेत्र निर्धारण गरेर किसानलाई अनुदानका लागि रु. ४० लाख बजेट विनियोजन गरिएको छ । अनुदान कार्यक्रमले मात्रै १५० हेक्टर क्षेत्रमा खेती विस्तार भएको जनाइएको छ । सूचना अधिकारी साउदले ज्ञान केन्द्रबाट किसान, समूह र सहकारीलाई ५० प्रतिशत अनुदान र प्राविधिक सहयोग हुँदै आएको बताए ।
यहाँ मोरङ, प्रीति, उन्नतिर विकास जातको तोरी खेती हुने गरेको छ । जिल्लामा छ हजार २५० हेक्टर क्षेत्रफलमा तोरी खेती हुने गरेको र उत्पादकत्व एक मेट्रिक टन प्रतिहेक्टर रहेको ज्ञान केन्द्रले जनाएको छ ।