काठमाडौँ। सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएको घटना छानबिनका लागि समिति बनाइएको छ । आक्रोशित स्थानीले आन्दोलन भने जारी राखेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलपछि सहायक सिडिओको संयोजकत्वमा प्रहरीका डिएसपी र राष्ट्रिय अनुसन्धानका अधिकृत रहने गरी समिति बनाइएको छ । समितिलाई प्रतिवेदन पेश गर्न ७ दिनको समय सीमा दिइएको छ ।
यसैगरी मृतककी श्रीमती र छोरालाई रोजगारी दिलाउने सहमति भएको छ । एपीएफको लौकहीस्थित बीओपी टोली पनि फिर्ता गराउने सहमति बनेको सुनसरी प्रशासनले जनाएको छ ।
सर्वपक्षीय सहमति पश्चात् प्रशासनमा वार्तामा बसेको मृतकका आफन्त र स्थानीयले आन्दोलनरत पक्षलाई आन्दोलन र प्रदर्शन फिर्ता लिन आग्रह गरेको छ । तर, प्रदर्शन रोकिएको छैन ।


