सुदूरपश्चिम । राष्ट्रिय सभा सदस्य पदका लागि सुदूरपश्चिम प्रदेशमा हुन लागेको निर्वाचनलाई लक्षित गरी धनगढीमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कैलाली जिल्ला अदालतका न्यायाधीश एवं निर्वाचन अधिकृत भुवनसिंह थापाले कार्यालयको उद्घाटन गरे । सो अवसरमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी गराएका थिए ।
उनले भने, “कार्यालय परिसरमा एक मतदान स्थल र दुई मतदान केन्द्र स्थापना हुन लागेको छ । यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।” उनका अनुसार आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रदेशसभाका सदस्य र पालिका तहका प्रमुख उपप्रमुख एवं अध्यक्ष/उपाध्यक्ष मतदाता रहेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्य (एक महिला र एक पुरुष)को पदावधि सकिन लागेकाले ती पदका लागि निर्वाचन हुन लागेको निर्वाचन कार्यालयका प्रमुख प्रमुख भट्टले बताए । यस निर्वाचनमा ५२ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् ।
प्रदेशसभाका एक सदस्य निलम्बनमा छन् भने सबै ८८ पालिका तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी एक सय ७५ मतदाता छन् । पालिका तहका एक मतदाता पनि निलम्बनमा छन् ।