आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) भित्रको उम्मेदवार चयन प्रक्रिया चासोको साथ हेर्न थालिएको छ। अन्य दलहरूले उम्मेदवार सिफारिस गरिसकेको अवस्थामा एमाले भने अझै निर्णयको मोडमा नपुग्दा पार्टीभित्र पुस्तागत बहस र नेतृत्व हस्तान्तरणको बहस एकसाथ सतहमा आएको छ।
यसपटक सिन्धुपाल्चोक–१ मा एमालेको उम्मेदवार को हुने भन्ने प्रश्न केवल व्यक्तिको नाममा सीमित छैन, यो पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जाबीचको छनोट को रूपमा हेरिन थालेको छ। पूर्व प्रदेश मन्त्रीदेखि लिएर ४० वर्षमुनिका युवा नेता शेर्पासम्मको नाम चर्चामा आउनुले यस क्षेत्रको राजनीतिक बहसलाई अझ रोचक बनाएको छ।
पार्टी सर्कुलरअनुसार पुस २० गतेभित्र उम्मेदवार सिफारिस गर्नुपर्ने भए पनि एमालेभित्र अन्तिम निर्णय हुन बाँकी छ। यही ‘पर्ख र हेर’को अवस्थाले युवा नेता र कार्यकर्तालाई थप सक्रिय बनाएको देखिन्छ।
जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठ का अनुसार उम्मेदवार छनोट पार्टीको विधि, पद्धति र तल्ला तहका कमिटीहरूको सिफारिसका आधारमा गरिनेछ। उनले भने, “पार्टीको भावना र संगठनको निर्णय अनुसार नै अघि बढ्छौं।” यद्यपि आफू उम्मेदवार बन्ने–नबन्ने विषयमा भने औपचारिक निर्णय भइसकेको छैन।
पूर्व प्रदेश मन्त्री अरुण नेपालले पनि उम्मेदवार चयनमा नेता–कार्यकर्ताको भावना निर्णायक हुने बताउँदै पार्टीले जिम्मेवारी दिए आफू अघि बढ्न तयार रहेको संकेत दिएका छन्। तर पार्टीभित्रको बहस यतिमा मात्र सीमित छैन।
पूर्व केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सरेश नेपाल ले भने अहिलेको समय युवाहरूलाई अगाडि ल्याउने भएको दाबी गर्छन्। “जेन–जी आन्दोलनपछि अब नेतृत्व युवा पुस्ताले लिनुपर्छ, पुराना नेताहरूले मार्गदर्शकको भूमिका खेल्नुपर्छ,” उनको तर्क छ। यद्यपि पार्टी नेतृत्वको पंक्तिको भनाइ अनुसार निर्णय लिने बताउनु हुन्छ ।
त्यस्तै भर्खरै सम्पन्न ११ औं महाधिवेशनमा लोकप्रिय मत ल्याउँदै महाधिवेशन प्रतिनिधिमा बिजयी भएका युवा नेता आङ्दोर्जे शेर्पालाई पनि आकांक्षीका रूपमा हेरिएको छ । जेन्जी आन्दोलनको मर्मसँगै सिन्धुपाल्चोक १ मा कांग्रेस र माओवादीले पुरानै अनुहारलाई अगाडि सारेको अवस्थामा एमालेभित्र भने पुस्तान्तरणको बहस पनि सुरु भएको छ । पार्टीका हरेक तहका कमिटीमा युवा पुस्तालाई समेट्दै अघि बढ्ने रणनीति अपनाइरहेको सन्दर्भमा यदि युवा नेतृत्वलाई अवसर दिने परिस्थिति बनेमा आङ्दोर्जे शेर्पा पनि दाबेदारका रूपमा देखिन थालेका छन । यद्यपि शेर्पाले आफूभन्दा सिनियर तथा अग्रज नेताहरूको सम्मानलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट संकेत गरेका छन्। पार्टीभित्रको मूल्यांकन, आवश्यकता र समग्र निर्णयका आधारमा जिम्मेवारी आयो भने त्यसलाई व्यक्तिगत आकांक्षाभन्दा माथि राखेर स्वीकार गर्ने उनको बुझाइ छ। व्यक्ति होइन, पार्टीको निर्णय नै निर्णायक हुने उनको बुझाई छ।
त्यस्तै पूर्व जिल्ला कमिटी अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कमल नेपाल पनि पार्टीले अघि सारेको अवस्था पछि नहट्ने मनस्थितिमा देखिन्छन् ।
त्यस्तै भोटेकोसी गाउँपालिकाबाट उदाउँदै गरेका ४० वर्षमुनिका युवा नेता तथा प्रदेश कमिटी सदस्य आङछिरि शेर्पा पनि लामो समय सक्रिय र योगदान रहेको अग्रज नेताहरू धेरै हुनुहुन्छ तर अहिलेको आन्दोलनले युवा पुस्तालाई अगाडि सार्नुपर्ने सन्देश दिएकोले पार्टी पंक्ति र स्थानीय कार्यकर्ताले अगाडि बढाउने स्थिति बने पछि नहट्ने संकेत गरेका छन् !
त्यस्तै महाधिवेशन प्रतिनिधि ,जिल्ला पार्टीको उपसचिव सुशीला पाख्रीन, भरत पराजुली, सागर घिमिरे, हेमगंगा मोक्तान लगायतका नामहरू चर्चामा छन्।
सिन्धुपाल्चोक–१ मा एमाले कुन दिशामा अघि बढ्छ भन्ने राजनीतिक संकेत अब २० गते गर्ने सिफारिस गर्ने निर्णयले निर्धारण गर्ने देखिन्छ । पुराना नेतृत्वलाई निरन्तरता दिने कि नयाँ पुस्तालाई अवसर दिने, यही प्रश्नले एमालेको निर्णयलाई अझ जटिल बनाएको छ।
उम्मेदवार सिफारिसको मिति नजिकिँदै जाँदा युवाहरूको सक्रियता र पुराना नेताहरूको अनुभव बीच अन्ततः कसको पक्ष बलियो हुन्छ भन्ने विषयलाई लिएर सिन्धुपाल्चोक–१ को राजनीतिक वृत्तलाई उत्सुकतापूर्वक हेरिएको छ।