काठमाडौँ । आगामी जनवरीमा साउदी अरबसँग श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
२६ र २७ जनवरीमा साउदीमा आयोजना हुने ‘ग्लोबल लेबर मार्केट कन्फरेन्स’ (विश्व श्रम बजार सम्मेलन) का अवसर पारेर श्रम सम्झौतामा हस्ताक्षर हुने भएको हो ।
साउदीले उक्त सम्मेलनमा सहभागी हुन नेपाललाई पत्र पठाएको छ । नेपालका लागि साउदीका कार्यवाहक राजदूत अब्दुल नासर विन हुसेन अल हार्थिबले गत बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई भेटेर सम्मेलनको निम्तो दिएका थिए भने त्यही समयमा सम्झौतामा हस्ताक्षर गर्ने मिति तय भएको जनाएका थिए ।
श्रम मन्त्री भण्डारीले २६ र २७ जनवरीमा हुने कन्फरेन्सको साउदीसँगको साइडलाइन मिटिङमा हस्ताक्षर हुने बताए ।
नेपाल र साउदीबीच पहिलो पटक श्रम सम्झौता हुन लागेको हो । १३ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको थियो । तर, सरकार परिवर्तन भएपछि कुन तहमा हस्ताक्षर गर्ने भन्ने विषय टुंगो लाग्न नसकेपछि यो प्रक्रिया अगाडि बढेको थिएन ।
तत्कालीन मन्त्रिपरिषद् निर्णय लगत्तै श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत साउदीलाई पत्राचार गरेको थियो । तर, साउदीबाट लामो समयसम्म मिति, समय र कसले हस्ताक्षर गर्ने भन्ने जवाफ आएको थिएन ।
नेपालमा श्रम मन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्री सुशीला कार्कीले नै लिएकी थिइन् । जसले गर्दा कसलाई पठाउने र कुन तहका अधिकारीको उपस्थितिमा हस्ताक्षर गर्ने भन्नेमा ढिलाइ भएको थियो ।
साइडलाइन मिटिङमा नेपाली श्रमिकको हकहित, सुरक्षा लगायत विषयमा साउदीका अधिकारीहरूसँग छलफल हुनेछ ।