काठमाडौँ- प्रतिनिधि सभा चुनावअन्तर्गत अहिलेसम्म ४ वटा दलले समानुपातिकतर्फको बन्द सूची बुझाएका छन् । निर्वाचन आयोगका अनुसार पहिलो दिन आइतबार ३ दल र आज थप एक दलले बन्द सूची बुझाएका हुन् ।
आइतबार नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनप्रिय लोकतान्त्रिक पार्टी र थारु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बन्द सूची पेश गरेका थिए । बन्द सूची पेश गर्ने समय सीमा आजसम्म मात्र हो ।
आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार साँझ ४ बजेसम्म आयोग परिसरभित्र प्रवेश गरिसकेका दलले प्रक्रिया पूरा नहुन्जेलसम्म बन्द सूची पेश गर्न पाउनेछन् । समानुपातिक निर्वाचनका लागि १ सय दलले ९३ निर्वाचन चिन्हमा भाग लिन आयोगमा दल दर्ता गराएका छन् ।