काठमाडौँ । देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ती घटनामा अन्य नौ जना घाइते भएका छन् ।
अधिकांश घटना आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले दैनिक नै आगलागीका घटना हुने गरेको जानकारी दिए । उनका अनुसार हुम्लाको खर्पुनाथ गाउँपालिकामा-२ स्थित एक घरमा अचानक आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
यस्तै, मधेस प्रदेशको धनुषास्थित महादेव गाउँपालिका-२ की २२ वर्षीया महिलाको ग्यासमा पानी तताउने क्रममा आगलागीमा परेर मृत्यु भएको छ । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।
सुनसरीको भोक राहामा घूर बालेर आगो ताप्ने क्रममा साडीमा आगो सल्किँदा एक महिला घाइते भएकी छिन् । यस्तै सप्तरीमा पनि घुर ताप्ने क्रममा नै साडीमा आगो सल्किएर एक महिला घाइते भएकी छिन् । महोत्तरीमा पनि साडीमै आगो सल्किएर एक महिला घाइते भएकी छिन् ।
त्यसै गरी, रौतहट, पर्सा र दोलखामा पनि आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर एक–एक जना घाइते भएका छन् । भक्तपुरमा आगो ताप्ने क्रममा ११ वर्षीया बालिका घाइते भएकी छिन् ।