सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिङटार सडक खण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
कोशी राजमार्गअन्तर्गत खाँदबारी-तुम्लिङटार सडकमा आज साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा खाँदबारी नगरपालिका-९ तुम्लिङटारका ४५ वर्षीय धनबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। खाँदबारी–तुम्लिङटार सडकमा सभा खोलाबाट तुम्लिङटार आइरहेको को१८प ७१७६ नम्बरको मोटरसाइकल र तुम्लिङटारबाट सभाखोलातर्फ गइरहेको प्रदेश१-०२-०४३प २२७७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते को१८प ७१७६ नम्बर मोटरसाइकलमा पछाडि सवार धनबहादुर सुनारको उपचारका क्रममा मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तैगरी खाँदबारी-९ का मोटरसाइकल चालक द्वय ४८ वर्षीय चक्रबहादुर सुनार र धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ का ५५ वर्षीय यज्ञबहादुर श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा उपचार भइरहेको छ ।