काठमाडौँ। वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को संरक्षण प्रयासको प्रशंसा गरेका छन् ।
उनले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालय भ्रमणका क्रममा दशकौँदेखि वन्यजन्तु संरक्षण र प्राकृतिक पारिस्थितिक प्रणालीको पुन:स्थापनामा एनटिएनसीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेका हुन् ।
मन्त्री चौलागाईंले एनटिएनसीका संरक्षण प्रयासको उच्च मूल्यांकन गर्दै आगामी दिनमा संस्थाले अघि सारेका संरक्षण लक्ष्यमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले नेपाललाई विश्वस्तरमा प्रकृति संरक्षणको अग्रणी मुलुकका रूपमा स्थापित गर्न एनटिएनसीको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गरेका छन् ।
उक्त अवसरमा एनटिएनसीका सदस्य सचिव डा. नरेश सुवेदीले संस्थाले सञ्चालन गरिरहेका वन्यजन्तु संरक्षण कार्यक्रम तथा प्राकृतिक सम्पदा क्षेत्रहरूको संरक्षणसम्बन्धी गतिविधिबारे विस्तृत जानकारी गराएका थिए ।
उनले समुदायको सक्रिय सहभागितामार्फत स्थानीय जीविकोपार्जन र प्रकृति संरक्षणबीचको दूरी घटाउने उद्देश्यले अपनाइएका समुदाय-आधारित संरक्षण मोडेल प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएको बताए ।
एनटिएनसीले संरक्षणका साझा लक्ष्य हासिल गर्न मन्त्रालयसँगको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरेको छ ।