काठमाडौँ । ४ महिना अगाडि राजनीतिक यात्रामा छुट्टिएका दम्पती रेशम चौधरी र रञ्जिता श्रेष्ठको पुनर्मिलन हुने भएको छ । उनीहरूले नेतृत्व गरेको पार्टीबीच भोलि एकता हुन लागेको हो ।
भोलि दिउँसो १ बजे नाउपा नेपाल कार्यालय सिनामंगलमा पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको छ । रेशम चौधरी जेलमा रहेको बेला रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो ।
छोटो समयमा स्थानीय तह प्रदेश र प्रतिनिधि सभामा राम्रो नतिजा ल्याएको पार्टी पछिल्लो समय दम्पती विवादका कारण सुस्त बनेको थियो ।
टिकापुरका सम्पन्न पहिलो महाधिवेशनबाट रन्जितालाई हटाउँदै रेशम आफै अध्यक्ष भएपछि नाउपाको विवाद उत्कर्षमा पुगेको थियो । त्यसको करिब २ वर्षपछि भदौ २९ गते रेशम चौधरीले नाउपाबाट अलग भएको घोषणा गर्दै नाउपा नेपाल दर्ता गरेका थिए ।
कात्तिक २ गते कबीर सोबको अध्यक्षतामा गठन गरिएको नाउपा नेपालसँग भोलि एकता गर्ने करिब सबै तयारी पुरा भइसकेको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् ।
‘नाउपा र नाउपा नेपाल दुवै पार्टीको जन्मदाता रेशम चौधरी हुनुहुन्छ । दुवै पार्टीको विचार सिद्धान्त र मार्गदर्शन एउटै छ त्यसैले फरक फरक भएर जानुभन्दा एक हुनु पर्छ भनेर हामीले एकता गर्न लागेका हौँ ’ उनले भनिन्,‘दुई पार्टीको एकताले पार्टी अझै बलियो र सुदृढ बन्ने छ ।’
नागरिक उन्मुक्ति पार्टी नेपालकै झन्डा, चुनाव चिन्ह र पार्टीलाई नाउपाले स्वीकार गर्ने जनाएको छ । पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहने जनाइएको छ।