काठमाडौँ । सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते जेन जेड आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ।
उक्त रिटमा न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले शुक्रबार निर्णय सुनाउने भएको हो। यसअघि सर्वोच्चले उक्त रिटमा लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो।
अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट दायर गरेका हुन्। अधिवक्ता ढकालले रिटको अन्तिम टुंगो नलागेसम्म अध्यक्ष तथा सदस्यको रूपमा कुनै पनि कार्य नगर्न/नगराउन अन्तरिम आदेशको माग गरेका छन्।
जेन जेड आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। तर,छानबिनको विषयसँग सम्बन्धित धारणा पहिले नै सार्वजनिक गरेको र पूर्वाग्रही देखाइसकेकाले उनीहरूको अनुसन्धानबाट घटनाको सत्य तथ्य बाहिर नआउने जिकिर रिट निवेदकको छ।