काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ। पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए।
दुई दिनपछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने जनाइएको छ। प्रवक्ता झाका अनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब चार सय आकांक्षी सहभागी छन्। तीमध्येबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइने छ।
झाले यही पुस ५ गते आयोजित छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका समानुपातिक उम्मेदवारका आकांक्षीहरूलाई पुनः छलफलमा सहभागी गराइने बताए। प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी पार्टी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहरालाई दिइएको छ। आवश्यकताअनुसार पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त प्रक्रियाको अनुगमन गर्ने बताइएको छ।
प्रवासमा रहेका उम्मेदवारका आकांक्षीहरूको मूल्यांकन ‘भर्चुअल’ माध्यमबाट गरिने छ।