काठमाडौँ । सरकारी टोलीले राप्रपाको केन्द्रीय कार्यालयको अनुगमन गरेको छन्। सरकारका मन्त्रीसहितको प्रतिनिधिमण्डल धुम्बाराही पुगेर आसन्न निर्वाचनलगायतका विविध विषयमा सरकारले गरिरहेको प्रयासबारे जानकारी गराएको हो।
अनुगमनको क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटमा सरकारी टोलीले निर्वाचनको वातावरण बनाउन, आवश्यक तयारीलाई तीव्रता दिन सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी गराएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
निर्वाचन आयोग निर्वाचनका लागि तयारी गरिरहेको, भयरहित वातावरणमा निर्वाचन गर्न सुरक्षा संयन्त्र सक्षम रहेको विषयमा आश्वस्त तुल्याउने प्रयास सरकारी टोलीबाट भएको उनले बताए।
राप्रपाले निर्वाचन अगावै नवीन समझदारीको फराकिलो राजमार्गमा मुलुकलाई लैजानुपर्ने विषयमा आफ्नो धारणा सरकारलाई पुन:स्मरण गराएको उनले बताए। अध्यक्ष लिङ्देनले प्रजातान्त्रिक दलको रूपमा राप्रपाले चुनावको सदुपयोग गर्ने विषय समेत उल्लेख गरेका छन्।