काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नवनियुक्त मुख्य प्रशिक्षक हर्षल जयन्त पाठकलाई राष्ट्रिय टोलीको मात्र नभएर समग्र नेपाली महिला क्रिकेट विकासको मुख्य जिम्मेवारी सुम्पेको छ।
मंगलबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा आयोजित ‘प्रेस मिट’ तथा औपचारिक परिचयात्मक कार्यक्रममा बोल्दै क्यानका क्रिकेट म्यानेजर विनोद दासले पाठकको भूमिकाबारे स्पष्ट पारेका हुन्।
“हर्षल सिनियर महिला टोलीको मात्र मुख्य प्रशिक्षक हुनुहुन्न, उहाँ समग्र महिला क्रिकेटको प्रमुख हुनुहुन्छ,” दासले भने। क्यानले नेपाली महिला क्रिकेटको पुनर्संरचना (Revamp) गर्ने योजना बनाएको र त्यसको नेतृत्व पाठकले गर्ने दासले बताए। भारतीय मुलका प्रशिक्षक पाठक दुई वर्षे सम्झौतासहित नेपाल आएका हुन्।
यसअघि थाइल्याण्डको महिला टोलीलाई प्रशिक्षण दिइसकेका पाठकलाई क्यानले गत डिसेम्बर १६ मा मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। उनी आइतबार मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।
पदभार ग्रहण गर्दै पाठकले नेपालको क्रिकेटप्रतिको लगाव नै आफ्नो आगमनको मुख्य कारण रहेको बताए। “यहाँको क्रिकेटप्रतिको ‘प्यासन’ र जुनूनकै कारण म नेपाली क्रिकेटको हिस्सा बन्न चाहेको हुँ,” पाठकले भने, “मैले नेपाली महिला क्रिकेटलाई नजिकबाट नियाल्दै आएको छु। टोलीको सबल पक्ष र सीमितताबारे म पूर्ण जानकार छु।”
पहिलो गास नै चुनौतीपूर्ण
पाठकको काँधमा पहिलो जिम्मेवारी नै निकै चुनौतीपूर्ण रहेको छ। उनले घरेलु मैदानमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाली टोलीको नेतृत्व गर्नेछन्।
त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी मैदानमा हुने उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, आयरल्याण्ड, पपुवा न्युगिनी, नामिबिया, स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिकाले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता जनवरी १८ बाट सुरु हुनेछ भने जनवरी १४ र १६ मा ‘वार्म-अप’ म्याचहरू हुनेछन्।
थाइल्याण्डलाई सन् २०२० मा पहिलो पटक विश्वकपमा पुर्याएका पाठक नेपालको छनोट सम्भावनाप्रति आशावादी देखिन्छन्। “हामीसँग विश्वकपमा छनोट हुने राम्रो अवसर छ,” उनले भने, “यसका पछाडि केही कारणहरू छन्। पहिलो त यो हाम्रो घरेलु मैदानमा हुँदैछ, जहाँ दर्शकको भव्य समर्थन हुनेछ। दोस्रो, विपक्षी टोलीहरू हाम्रा लागि नौला होइनन्।”
यद्यपि, प्रशिक्षक पाठकले नतिजालाई लिएर टोलीमाथि अनावश्यक दबाब नदिने संकेत गरे। यदि नेपाल छनोट हुन सकेन भने पनि त्यो नेपाली महिला क्रिकेटको असफलता नहुने उनको तर्क छ। “यो (ग्लोबल छनोट) हामी जित्न चाहन्छौं। तर नतिजा हाम्रो पक्षमा आएन भने पनि यो संसारको अन्त्य होइन,” उनले भने, “अझ राम्रा दिनहरू आउन बाँकी नै छन्।”
ग्रासरुटदेखि नै सुधारको योजना आफ्नो जिम्मेवारीको एक हिस्साको रूपमा, पाठकले नेपालमा तल्लो तह (ग्रासरुट) देखि नै महिला क्रिकेट विकासमा ध्यान केन्द्रित गर्ने बताएका छन्।
सिनियर टोलीमा पुगेपछि आधारभूत कुराहरू सिकाउन नपरोस् भन्ने उनको उद्देश्य छ। “हामी जुनियर प्रतिभाहरूलाई खेलको प्राविधिक पक्षबारे राम्रोसँग सिकाउनेछौं, ताकि सिनियर टोलीमा आएपछि ‘बेसिक’ कुरामा समय खर्चिन नपरोस्,” उनले भने। साथै, बलियो ‘बेन्च स्ट्रेन्थ’ (वैकल्पिक खेलाडीको शक्ति) निर्माण गर्न धेरैभन्दा धेरै प्रतिभा उत्पादन गर्नु आवश्यक रहेको उनले औंल्याए।