काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । काठमाडौँ महानगरको शिक्षा विभागले सोमबार सूचना निकाल्दै नाम मात्रका त्यस्ता १०७ विद्यालयलाई सम्पर्कमा आउन १५ दिनको निर्देशन दिएको हो ।
‘वेबसाइटमा प्रकाशित सूचीबमोजिमका विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक/सञ्चालक/व्यवस्थापक र गुठियारले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र काठमाडौँ महानगरपालिका शिक्षा विभाग, कमलादीमा सम्पर्क गरी सोको पुष्टि गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ ।
तोकिने समय सीमाभित्र सम्पर्कमा नआएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि नगर कार्यपालिकामा सिफारिस गरिने शिक्षा विभागले स्पष्ट पारेको छ।