काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको निकट नेताले बताएका छन् । उनीहरू दुईबीच सोमबार राति कमलादीस्थित रास्वपाका केन्द्रीय सदस्य असीम शाहको घरमा भेटवार्ता भएको हो ।
वार्तापछि मंगलवार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहले वार्तालाई ‘कथाको सुखद सुरुवात’ को भएको बताएका छन् । ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन-दुई दाजु-भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’ उनले लेखेका छन् ।
दुवै नेता राति ८ बजे त्यहाँ पुगेका थिए भने उनीहरू निस्कँदा रातिको १ बजेको थियो । उनीहरूबीच भएको कुराकानीको औपचारिक जानकारी सार्वजनिक भएको छैन । यद्यपि, असीम शाहले एउटा सुखद सुरुवात भएको बताएको हो ।