एएफपी । संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ ।
अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय हुनेछ ।
रावलपिन्डीको अडियाला जेलमा भएको सुनुवाइका क्रममा विशेष न्यायाधीश सेन्ट्रल शाहरुख अर्जुमन्दले फैसला सुनाएको बताइएको छ ।
इमरानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार रोकथाम ऐनको धारा ५ (२) (सरकारी कर्मचारीहरूद्वारा आपराधिक दुर्व्यवहार) अन्तर्गत सात वर्षको सश्रम कारावासको सजाय सुनाइएको छ ।
उनकी श्रीमती बुशरा बीबीलाई पनि सोही प्रावधानअन्तर्गत कुल १७ वर्षको जेल सजाय सुनाइएको उल्लेख गरिएको छ । यस वर्षको अक्टोबरमा इमरान र बुशरा बीबीले सबै आरोपहरू अस्वीकार गरी यो पाकिस्तानी प्रधानमन्त्रीलाई राजनीतिबाट अयोग्य ठहर गर्ने मन गढन्त र राजनीतिक प्रसिोध भएको बताएका थिए ।
डनका अनुसार, पिटिआई संस्थापकले नीति अनुसार उचित प्रक्रियाको पालना गरेको र प्रधानमन्त्री कार्यालय प्रोटोकल खण्डमा रिपोर्ट गरिएको, मूल्यांकन गरिएको र भुक्तानी राष्ट्रिय कोषमा जम्मा भएपछि कानुनी रूपमा राखिएको बताएका छन् ।