नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपाली खेलकुदको दीर्घकालीन भविष्यलाई लक्षित गर्दै शुक्रबार १४ जना ‘एलिट’ खेलाडीका लागि महत्त्वाकांक्षी छात्रवृत्ति योजना सार्वजनिक गरेको छ। सन् २०२८ को लस एन्जलस (एलए) ओलम्पिक, २०२६ को एसियाली खेलकुद र युथ ओलम्पिकमा पदकको सम्भावना खोजी गर्न एनओसीले यो आर्थिक प्याकेज घोषणा गरेको हो। यो योजना अन्तर्गत अन्तर्राष्ट्रिय निकायको सहयोग र एनओसीको आन्तरिक स्रोत परिचालन गरी खेलाडीहरूलाई मासिक भत्ता उपलब्ध गराइनेछ।
घोषित कार्यक्रमअनुसार छनोटमा परेका ८ खेलाडीले ‘ओलम्पिक सोलिडारिटी’ अन्तर्गत मासिक १ हजार १ सय २५ अमेरिकी डलर (करिब १ लाख ५० हजार रुपैयाँ) प्राप्त गर्नेछन्। एलए ओलम्पिक लक्षित यो छात्रवृत्ति सन् २०२५ को सेप्टेम्बर १ देखि नै लागू भएको मानिनेछ। बाँकी ६ खेलाडीलाई भने एनओसीले आफ्नै प्रशासनिक खर्च कटौती गरेर मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ। एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकका लागि ‘मेरिट’ (योग्यता) र पदकको सम्भावनाका आधारमा खेलाडी छनोट गरी ओलम्पिक सोलिडारिटीबाट स्वीकृति लिइएको बताए भने एसियाडका लागि प्रशासनिक खर्च घटाएर स्रोत व्यवस्थापन गरिएको प्रस्ट पारे।
सन् २०२८ को ओलम्पिक लक्ष्य राखेर सर्वाधिक राशिको छात्रवृत्ति पाउने ८ जनामा पेरिस ओलम्पिकका अनुभवी ब्याडमिन्टन स्टार प्रिन्स दाहाल, पौडीका एर्भिन श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधान रहेका छन्। यस्तै, १४ वर्षकै उमेरमा ग्रान्ड स्लाम (अस्ट्रेलियन ओपन २०२६) मा छनोट भएर इतिहास रचेकी लनटेनिसकी शिवाली गुरुङ, गल्फका नम्बर एक एमेच्योर सद्भाव आचार्य, टेबलटेनिसकी इभाना थापा, साइकलिङकी उषा खनाल र स्पोर्टस क्लाइम्बिङका तेन्जिङ बर्टिन राई पनि यो सूचीमा अटाएका छन्।
त्यसैगरी, सन् २०२६ को एसियाली खेलकुद र युथ ओलम्पिकलाई मध्यनजर गर्दै ६ जना खेलाडीलाई एनओसीले आन्तरिक स्रोतबाट मासिक ५० हजार प्रदान गर्नेछ। आगामी जनवरी १ देखि लागू हुने यो समूहको नेतृत्व हालै विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्य पदक जितेका बक्सिङका चन्द्रबहादुर थापा र १९औं एसियाडकी रजत विजेता करातेकी एरिका गुरुङले गरेका छन्। उनीहरूसँगै आर्चरीका अनुभवी तिलक पुन मगर, करातेकी सानुमाया थिङ र उसुकी सुस्मिता तामाङ पनि समेटिएका छन्। युथ ओलम्पिकका लागि भने उसुकी रश्मि तामाङलाई छनोट गरिएको छ। एनओसीका महासचिव राजीव श्रेष्ठले यो सहयोगले खेलाडीहरूलाई उच्चस्तरीय प्रशिक्षण लिन मद्दत पुग्ने विश्वास व्यक्त गरे।