काठमाडौँ । नेकपा एमाले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफू बिनाको एमाले बनाउने चाहना ध्वस्त भएको बताएका छन् ।
पार्टीका प्रतिनिधिले एघारौँ महाधिवेशनबाट पुनः अध्यक्षमा आफूलाई तेस्रो कार्यकालमा निर्वाचित गरेसँगै ओली बिनाको एमाले बनाउने चाहना ध्वस्त भएको बताएका हुन् ।
आफूलाई पार्टीको नेतृत्वबाट हटाउन भइरहेको षड्यन्त्रविरुद्ध अध्यक्षमा विजयी गराएर पार्टी प्रतिनिधिले जवाफ दिएको उनको तर्क छ ।
जेन जेड आन्दोलनबाट सत्ताच्यूत भएका ओलीले पार्टी महाधिवेशनले अध्यक्षमा चुनेसँगै आफ्नो उपदेयता नसकिएको प्रष्ट भएको दाबी गरेका छन् ।
उनले भने, ‘मेरो बारेमा अनेक प्रकारका शक्तिहरू, विभिन्न प्रकारका भ्रम फिँजाउने, मनोवैज्ञानिक आतंक, त्रास, अनेक प्रकारका जालझेल, षड्यन्त्र, तिकडम यी सबै कामहरू गरिरहेका छन्, फेरि पनि तपाईँहरूले मलाई ती सबै भ्रमहरूलाई, ती सबै षड्यन्त्रहरू, तिनका सबै कूचाहनाहरूलाई जवाफ दिनुभएको छ, केपी ओली बिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीहरूको चेष्टा थियो त्यसलाई ध्वस्त पार्नुभएको छ, म तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु ।’