काठमाडौँ । एमालेका नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्टले रूपान्तरणसहितको पार्टी निर्माणको अभियानमा नेतृत्व गरेको भन्दै ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेप्रति सम्मान जनाएका छन् ।
उनले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यले उच्च नैतिकता र त्याग देखाएको भन्दै प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले अध्यक्ष केपी ओलीसहित विजेता नेतालाई बधाई दिएका छन् ।
विष्टले लेखेका छन्, ‘खुला प्रतिस्पर्धा र युगले खोजेको रूपान्तरणसहितको पार्टी निर्माणका लागि हाम्रो अभियानको नेतृत्व गर्नुहुने कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डेलगायतका सबै नेता कमरेडहरूको निष्ठा, साहस र संघर्षलाई हार्दिक सम्मान छ । त्यसैगरी आजीवन सामाजिक परिवर्तनको आन्दोलनमा समर्पित आदरणीय कमरेडहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, केशव वडालसहितका अग्रजहरूले देखाउनुभएको उच्च नैतिकता र त्यागको प्रशंसा गर्दछु ।’
संगठित प्रयत्नले पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउँदै, देशलाई अन्योल र निराशाबाट निकास दिलाउने उनले बाचा गरेका छन् ।